खाली खुट्टा दौडिने गुडिया भन्छिन्– छोरी मान्छेलाई हेर्ने नजरिया बदल्न चाहन्छु
नवलपरासीको सीमावर्ति गाउँ गुठीपर्सौनीमा जिल्लास्तरीय एथलेटिक्स प्रतियोगिता हुँदै थियो। तीन कक्षा पढ्ने गुडिया गुप्ता गाउँका अन्य केटाकेटीसँग प्रतियोगिता हेर्न गएकी थिइन्। गन्जी र कट्टु लगाएर खुला मैदानमा दौडिरहेका एथलेटिक्स खेलाडीबाट उनी यति प्रभावित भइन्, उनले संकल्प गरिन्, ‘म पनि कुनै दिन धाविका बनेर हावासँग कुरा गर्छु।’
उनै गुडिया पूर्वाञ्चलमा जारी सातौं बृहत राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सको ८ सय, १५ सय र ४ गुणा ४ सय मिटर रिलेमा पश्चिमाञ्चलबाट सहभागी छिन्।
तीन कक्षामा देखेको सपना पछ्याउँदै आफ्नै बलबूतामा राष्ट्रिय प्रतियोगितासम्म आइपुगेकी गुडियासामु अबको बाटो सहज छैन। परिवारको कमजोर आर्थिक अवस्था एउटा तगारो हो। त्योभन्दा ठूलो तगारो हो, राज्यको खेलप्रति उदासिनता।
दुई हजार रुपैयाँ नभएर शनिबारको खेलमा गुडिया खाली खुट्टा दौडिइन्। उनको यो अवस्था देख्दादेख्दै खेल पदाधिकारीहरूले गुडियाको निम्ति एथलेटिक्स खेलाडीले लगाउने जुत्ता (स्पाइक) को प्रबन्ध मिलाइदिन सकेनन्। आइतबार पनि उनी जुत्ताबिनै दौडिएकी थिइन्। बरु यसपटक उनले मोजा भने लगाएकी थिइन्।
गुडियाका बाबु सुरेश गुप्ता नवलपरासीका सामान्य किसान हुन्। उनको बुबा, आमा, १७ वर्षका भाइ र १५ वर्षकी बहिनीसहित पाँच जनाको परिवार छ। बाल्यकालदेखि नै खेलाडी बन्ने सपना साँचेकी गुडिया पछिल्लो तीन वर्षदेखि यही सपना पूरा गर्न सक्रिय छिन्।
गुडिया नियमित बिहान ४ बजे उठेर दौडन निस्कन्छिन्। अभ्यासबाट फर्किएपछि १० बजे स्कुल नजाँदासम्म आमा राजवन्तीलाई भान्छाका घरायसी काममा सघाउँछिन्। स्कुलबाट फर्किएर साँझ ५ बजे फेरि दौडन निस्कन्छिन्। सात बजे फर्किएपछि फेरि भान्छामा आमालाई सघाउँछिन्। पढाइलेखाइ सकेर सुत्दा राति १० बजिसक्छ।
उनको एउटै उद्देश्य छ– एथलेटिक्समा अब्बल बनेर नेपाली सेनाको जागिर खाने। उनी आर्थिक, सामाजिक र शैक्षिक रूपले पिछडिएको नवलपरासीको गुठीपर्सौनीका स्थानीयमाझ एउटा नजिर स्थापित गर्न चाहन्छिन्– दौडिएर पनि नाम, दाम र प्रतिष्ठा कमाउन सकिन्छ।
खेललाई मात्र होइन, गुडियाले आफ्नो पढाइलाई पनि विशेष ध्यान दिइरहेकी छन्। १८ वर्षीय गुडिया जनजागृति उच्च माविमा कक्षा १० मा अध्ययनरत छिन्। सेतोपाटी
No comments:
Post a Comment