स्कुललाई म्याद नाघेका औषधि!
जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले सामुदायिक विद्यालयहरूमा करिब १४ लाख मूल्यबराबरको म्याद गुज्रिएका औषधि पठाएको छ। स्वास्थ्य शिक्षा कार्यक्रमअन्तर्गत जनस्वास्थ्य कार्यालयले दुई सय ४८ वटा सामुदायिक विद्यालयमा १४ लाख रुपैयाँ मूल्यको प्राथमिक उपचार बक्स पठाएको थियो। म्याद गुज्रिएका पारासिटामोल, हेन्डिप्लास्ट, मलम, जीवनजल र हातमा लगाउने ग्लोब राखेर प्राथमिक उपचार बक्स विद्यालयमा पठाइएको थियो। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ। जनस्वास्थ्यले खरिद गरेर विद्यालयमा पठाएका प्राथमिक उपचार बक्समा रहेका औषधिमध्ये पारासिटामोल ट्याब्लेटको सन् २०१६ अगस्ट र पेरिनोर्म मलमको म्याद नोभेम्बर २०१६ मै सकिएको छ। ब्यान्डेज, ग्लोब र साबुनको म्याद पनि ६ महिनाअघि सकिएको छ। जनस्वास्थ्यले साउन २३ मा शिक्षा कार्यालय पर्सामा सामुदायिक विद्यालयमा वितरण गर्न औषधिसहितको प्राथमिक उपचार बक्स पठाएको थियो। तर शिक्षा कार्यालयले असोज पहिलो सातामा ६ वटा स्रोत केन्द्रमातहतका सामुदायिक विद्यालयमा प्राथमिक उपचार बक्स वितरण गरेको थियो। ठोरी, भिस्वा, पोखरिया, जितपुर नौका टोला, बर्बा छटौली एवं वि श्रामपुर स्रोत केन्द्रमातहतका विद्यालयमा असोज पहिलो साता र श्रीपुर स्रोत केन्द्रअन्तर्गतका विद्यालयमा भने चार दिनअघि प्राथमिक उपचार बक्स पठाइएको जानकारी पर्साका जिल्ला शिक्षा अधिकारी केदार तिवारीले दिए। 'म यहाँ असोज १७ मा सरुवा भई आएको हुँ', उनले भने, 'सातवटा स्रोत केन्द्रमा म आउनुअघि नै बक्स पठाइसकिएको रहेछ। मैले श्रीपुर स्रोत केन्द्रमा मात्रै पठाएको हुँ। बाँकी दुई केन्द्रमा औषधि पठाउन बाँकी छ।' बक्समा म्याद गुज्रिएका औषधि रहेको गुनासो आएपछि औराहा पचगवा र त्रिजुद्ध स्रोत केन्द्रका विद्यालयमा अैषधिसहितको बक्स नपठाइएको उनले बताए। शिक्षा कार्यालयको गोदाममा प्राथमिक उपचार बक्स अलपत्र परेपछि आफूले वितरण गर्न निर्देशन दिए पनि औषधि म्याद गुज्रिएको अवस्थामा भेटिएपछि वितरण रोकेको उनले बताए। स्वास्थ्य मन्त्रालयले स्वास्थ्य शिक्षा कार्यक्रमअन्तर्गत पर्साका सामुदायिक विद्यालयमा पठाइने प्राथमिक उपचार बक्स र औषधि खरिदका लागि गत आर्थिक वर्ष २०७२/७३ मै जिल्लामै जनस्वास्थ्य कार्यालयलाई १४ लाख रुपैयाँ निकासा गरेको थियो। जिल्ला जनस्वास्थ्य कार्यालयले चालू आर्थिक वर्ष २०७३/७४ को साउनमा मात्र औषधिसहितको प्राथमिक उपचार बक्स खरिद गरी पठाएको थियो। 'यो जनस्वास्थ्य कार्यालयको लापरबाही हो', पर्साका जिल्ला शिक्षा अधिकारी तिवारीले भने, 'जनस्वास्थ्य कार्यालय आफैंले ती बक्स सम्बन्धित विद्यालयमा पुर्याइदिनुपर्ने हो।' उनले भने, 'उसले शिक्षा कार्यालयको गोदाममा ल्याएर राखिदियो। हामीले पनि बन्द बक्स खालेर हेरेनौं। ताल्चा लगाएको बक्स खोलेर हेर्ने कुरा पनि आएन।' जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख राजकिशोर पण्डितले तत्कालीन स्वास्थ्य अधिकृत कामेश्वर चौरसियाले म्याद गुज्रिएका औषधि वितरण गरेको आरोप लगाएका छन्। जनस्वास्थ्य कार्यालयले विद्यालयमा पठाएका प्राथमिक उपचार बक्समा मन्त्रालयले तोकेभन्दा कम परिमाणका औषधि रहेको पाइएको छ। जनस्वास्थ्य कार्यालयले शिक्षा कार्यालयलाई प्राथमिक उपचार बक्स हस्तान्तरण गरेको साउन २३ को पत्रमा बक्सभित्र २५ प्रकारका औषधि एवं उपकरण रहेको उल्लेख छ। तर विद्यालयमा पठाइएका बक्समा भने १५ प्रकारका मात्र औषधि र उकरण रहेको भेटिएको छ। विद्यालयमा वितरण गरिएका बक्समा पारासिटामोल ट्याब्लेट, पेरिनोर्म मलम, जीवनजल, ग्लोब, ट्याब्लेट, साबुन, कैंची, कपास, गिलास, थर्ममिटर, टर्चलाइट, ब्यान्डेज, साबुनदानी, नेलकटरलगायत १५ प्रकारका मात्र औषधि एवं उपकरण छन्। -सेतोपाटी
No comments:
Post a Comment