३१ वर्षमा दीपिका: १० तथ्यमा बुझ्नुस् दीपिकालाई
बलिउड अभिनेत्री दीपिका पादुकोणको उमेर आजबाट ३१ भएको छ। उनी सन् १९८६ जनवरी ५ मा डेनमार्कको कोपेनहेगनमा जन्मिएकी हुन्। ‘ओम शान्ती ओम’बाट बलिउडमा पाइला राखेकी दीपिकालाई बलिउडमा सय करोड क्लबकी रानी पनि भनिन्छ। उनी अभिनित ‘चेन्नई एक्सप्रेस, ह्याप्पी न्यू इयर’ फिल्मले कमाइको मामिलामा २०० करोडको आँकडा कटाएका छन् भने ककटेल, ए जवानी हे दिवानी, रामलिला, पीकू, तमाशा तथा बाजिराव मस्तानी जस्ता फिल्मले वक्सअफिसमा गतिलै कमाइ गरेका छन्।
उनी हाल संजय लिला भन्सालीको 'पद्मावती'मा काम गरिरहेकी छन् भने उनको पहिलो हलिउड फिल्म 'एक्सएक्सएक्स' आगामी शुक्रबार रिलिज हुँदैछ।
त्यस्तै बलिउडमा अभिनेत्री दीपिका पादुकोणको सौन्दर्य, फेसन, फिल्मसँग जोडिने विषय, प्रेम र सम्बन्धका किस्सा र समसामयिक घटनामा उनले प्रस्तुत गर्ने विचारहरुले मिडियामा स्थान पाइरहन्छन्। तर, यसै भित्र पनि उनका यस्ता रोचक कुराहरु छन् जसका बारेमा आममानिस जानकार नहुन सक्छन्। उनीसँग जोडिएका यी कतिपय कुराहरु आममानिसका लागि प्रेरणाका स्रोत पनि हुन सक्छन् भने कति कुराले अस्पष्ट सुचनालाई स्पष्ट पारिदिन सक्छन्।
अनुशासनः दीपिका हरेक काम गर्दा अनुशासित हुनुपर्छ भन्ने मान्यता राख्छिन्। उनी आफूले जे काम गर्नु छ त्यसको पूर्वतयारी गर्छिन् र स्पष्ट कार्यतालिका बनाउँछिन् । दक्षिण भारतीय शैलीबाट प्रभावित दीपिका कामलाई आदेशात्मक र सफा ढंगले गर्नुपर्छ भन्ने ठान्छिन्।
खाना: मिठो खाना दीपिकाका कमजोरी हुन्। बम्बईमा एक्लै होस् या घरमा आमाबाबुसँग बस्दा होस्, उनी खाना नियन्त्रण गरेर खान जान्दिनन्। चकलेट भनेपछि हुरुक्कै हुने दीपिकालाई खाना मिलाएर खानु चुनौति हुने गरेको।
लोकप्रियता: दीपिकाको पहिलो हिट ‘ओम शान्ति ओम’ फिल्मलाई मानिन्छ। तर, उनको लोकप्रियता फिल्मले नै ह्वात्तै बढाएको भन्ने चाहीँ होइन। उनी फिल्ममा आउनुअघि नै लिरिल नामको साबुनको व्यावसायिक विज्ञापनबाटै हिट भइसकेकी थिइन्। यस विज्ञापनमा ऐश्वर्या राय पनि देखिइसकेकी छिन्।
उपलब्धि र उपहार: दीपिका सौन्दर्यमा मात्र अगाडी छैनन्। चुनौतिपूर्ण भूमिकालाई गहन तरिकाले निभाउन सक्ने खुबी पनि छ। सञ्जय लिला भन्सालीको फिल्म ‘रामलिला’ मा उनले निभाएको भूमिका धेरै मन परेपछि बलिउडका महानायक अमिताभ बच्चनले फूलको बुके उपहार पठाएका थिए।
टर्निङ प्वाइन्ट: बलिउड पाश्र्वगायक हिमेश रेशमियाको गीत ‘नाम हे तेरा’ बोलको गीतमा अभिनय गरेपछि दीपिकाको करियरले मोड लियो। यसै गीतबाट उनको परिश्रम र अभिनयप्रतिको लगाव देखेर ‘ओम शान्ति ओम’ की निर्देशक फराह खानले उनलाई फिल्म खेलाएकी थिइन्।
खेल कौशलता: दीपिकालाई ब्याडमिन्टन खेल्न धेरै मन पर्छ र उनी राम्रो खेल्छिन् पनि। तर, उनी बेसबलकी पनि राम्रो खेलाडी हुन् भन्ने कमैलाई थाहा छ। उनले बेसबलमा राम्रो प्रदर्शन गरेका कारण नै राष्ट्रियस्तरको प्रतियोगितामा समेत भाग लिएकी थिइन्।
प्रेम सम्बन्ध: मोडलिङमा संघर्ष गर्दै गर्दा उनी निहार पाण्ड्यासँग प्रेममा थिइन्। रणवीर सिंहसँग भेटिएपछि उनले निहारसँग सम्बन्ध तोडेकी थिइन्।
करियर: ‘रामलिला’ र ‘बाजिराव मस्तानी’ मा दीपिकालाई अभिनेत्री बनाएका निर्देशक सञ्जयलिला भन्सालीले सुरुमा उनलाई फिल्म ‘साँवरिया’ बाट डेब्यु गराउने बाचा दिएका थिए। तर, पछि भन्सालीको निर्णय बदलियो र उनले त्यो भूमिकामा सोनम कपुरलाई लिए । पछि दीपिकाले ओम शान्ति ओम पाइन् । रोचक कुरा त के भने साँवरिया र ओम शान्ति ओम एकै दिन रिलिज भयो । दीपिकाले सोही फिल्मबाट बलिउडमा छलाङ मारिन् र सोनम कपुरलाई समेत उछिनिन्।
दुर्लभ उपलब्धी: दीपिका यस्तो भाग्यमानी अभिनेत्रीमा पर्छिन् जसका लगातार चार फिल्मले बक्स अफिसमा सय करोडभन्दा माथि कमाई गरेका छन्। यस्तो दुर्लभ उपलब्धि पाउनेमध्येमा दीपिका बलिउडकी पहिलो अभिनेत्री हुन्।
यस्तो पनि: इन्डिया टुडेले निकाले उत्कृष्ट पचास व्यक्तिको सुचिमा दीपिकाले सातौं स्थानमा बाजी मारेकी थिइन् । उनको ‘ब्राण्ड भ्यालु’ नै दुई सय बहत्तर करोड भारु भएको आँकलन गरिएको थियो।
No comments:
Post a Comment