• Breaking News

    Friday, January 6, 2017



    काठमाडौंमा एमालेसहितका विपक्ष दलको शक्ति प्रर्दशन



    एमालेसहितका विपक्ष दलहरुले राजधानीमा शक्ति प्रदर्शन गर्दै सरकार विरुद्धको आन्दोलनलाई झनै उचाईमा पुर्‍याउने चेतावनी दिएका छन्।
    सरकारले ल्याएको संविधान संशोधन विरुद्ध काठमाडौंमा जनशक्ति प्रर्दशनपछि आयोजित सभालाई सम्बोधन गर्दै नेताहरुले सरकार अन्तैकतैबाट संचालित भएको भन्दै नेपाली जनताले निरन्तर खवरदारी गरिरहनुपर्ने आवश्यकता समेत औल्याए।
    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रतिपक्ष दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्र विरुद्ध गम्भीर षडयन्त्र भइरहेको उल्लेख गर्दै देशभर जागरण अभियान संचालन गर्ने चेतावनी दिए।
    उनले सरकारले निर्वाचन गराउन कुनै चासो नदेखाएको आरोप पनि लगाए। अध्यक्ष ओलीले सरकार आफ्ना आयू लम्ब्याउन मात्रै लागि परेको जिकीर पनि गरे। उनले संविधान संशोधन नभई निर्वाचन हुन दिन्नु भन्नु गम्भीर षडयन्त्र भएको उल्लेख गर्दै त्यसलाई सफल हुन नदिने चेतावनी दिए।
    अध्यक्ष ओलीले सरकारले संविधान संशोधन मात्र गर्न लागेको भने पनि सारमा त्यो राष्ट्रघात भएको प्रतिक्रिया पनि दिए। उनले सरकार जुवाडेको चालका फसेको आरोप समेत लगाए। जुवाडेले कौडा फाल्छ, तासका पत्ता फाल्छ, जित्यो भने तासका पत्ति र कौडा नभई सम्पत्ति बोकेर जान्छ भन्ने दृष्टान्त प्रस्तुत गर्दै अध्यक्ष ओलीले संविधान संशोधन नामको पत्ति फालेर नेपालमा अस्थिरताको सिलसिला मच्चाउन खोजिएको उल्लेख गरे।
    अध्यक्ष ओलीले मधेशी जनताको देशभक्तिलाई कमजोरी नठान्न पनि चेतावनी दिए। उनले मधेशवादी दलहरुप्रति संकेत गर्दै ११ सिट जितेको मधेशवादी दलहरुले चालिस सिट जितेको एमालेसामू फूर्ति लगाउन नसुहाउने टिप्पणी पनि गरे।
    अध्यक्ष ओलीले हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाएर मैथिली, भोजपुर लगायतका तराई मधेशको भाषालाई समाप्त पार्न खोजिएको भन्दै अव त्यसो हुन नदिन पार्टीले मेची महाकाली अभियान संचालन गर्ने उदघोष गरे।
    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतप्रति संकेत गर्दै कसैलाई देश टुक्राटुक्रा पारेर सुम्पन देशमा गणतन्त्र नआएको बताए। उनले जनतामा जागरण आएको उल्लेख गर्दै कसैले पनि राष्ट्रघाती कदम चाल्ने सपना नदेखे हुने चेतावनी पनि दिए। अध्यक्ष केसीले सरकारले नेपाली जनताको कलेजो काटेर भारतलाई सुम्पन खोजेको आरोप पनि लगाए।
    नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव कुनै हालतमा संसदमा पारित हुन नदिने जिकीर गरे। उनले राष्ट्रघाती संविधान संशोधन प्रस्ताव रोक्न सडक र सदन संघर्ष गर्नु परेको पनि स्पष्ट पारे। नेता सुवालले हिमाल, पहाड र तराईलाई एकतावद्ध बनाएर सरकारलाई हटाउने चेतावनी पनि दिए। उनले सरकारले ल्याएको संविधान संशोधन प्रस्तावले विदेशी नागरिकलाई एकै दिन कार्यकारी प्रमुख पदसम्म सुम्पने भएकाले यस्ता राष्ट्रघाती कदम विरुद्ध सबै पक्ष लाग्नुपर्ने बेला आएको पनि बताए।
    कार्यक्रममा बोल्दै नेकपा मालेका महासचिव सिपी मैनाली, नेपाल परिवार दलका एकनाथ ढकालसहितका नेताहरुले संविधान संशोधन प्रस्ताव नेपाली जनता र राष्ट्रको हितविरुद्ध आएकाले विरोध गर्नु परेको बताएका थिए। उनीहरुले संविधान संशोधन प्रस्ताव कुनै हालतमा पनि पारित हुन नदिने अठोट पनि गरेका थिए ।सेतोपाटी

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel