पुस २५, २०७३- लोकमानसिंह कार्कीमाथि सर्वाेच्च परिसरमा नै मोसो दल्ने नेकपा माओवादी(विप्लब समूह) का दुई कार्यकर्तालाई अदालतको अवहेलना गरेको अभियोगमा एक/एक महिना कैद सजाय हुने भएको छ ।
न्यायाधीशहरु आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संयुक्त इजलाशले प्रकाश शाही प्रबल र चन्द्रबहादुर बुढालाई एक/एक महिना कैद हुने आदेश दिएको हो । सर्वोच्च अदालतले पुस ७ गतेदेखि थुनामा रहेका उनीहरुलाई त्यही दिनदेखि कैद कट्टा हुनेगरी जिल्ला कारागार काठमाडौंमा पठाउन आदेश दिएको छ ।
अदालतमा बयान गर्ने क्रममा दुवैजनाले लोकमानमाथि कालोमोसो दलेको स्विकारेका थिए । तर उनीहरुले अदालतको अवहेलना गर्ने आफ्नो उद्देश्य नभएको दाबी गरेका थिए । सर्वोच्च अदालतले भने बयानका क्रममा अस्विकार गर्दैमा अवहेलना गर्ने क्रियाकलापबाट उन्मुक्ति हुन नसक्ने औंल्याएको हो ।
‘अवहेलनाको विषय अदालतको निर्वाध न्याय प्रशासनसँग जोडिएको विषय हो,’ अादेशमा भनिएको छ, ‘निर्वाध न्याय सम्पादनको निम्ती न्यायाधीश, कर्मचारी, कानुन व्यवसायी र मुद्दाका पक्षहरुको सुरक्षा अध्यावश्यक पूर्वसर्तको रुपमा रहन्छ । न्याय निरुपणको काममा संलग्न वा सरोकार रहने पक्षउपर गरिने कुनै पनि प्रकारको शारीरिक आक्रमण वा बेइज्जतीपूर्ण कार्यलाई अदालतले न्याय सम्पादनमा गरिने हस्तक्षेपको रुपमा बुझ्दछ ।’इकान्तिपुर
No comments:
Post a Comment